दैलेख : दैलेखको नेरामावि कालीमाटीबाट पढाईको सुरुवात गर्दै रामपुर कृषि विश्वविद्यालयका उपकुलपति सम्म पुगेका दैलेखको नारायण नगरपालिका ३ का डा. पुण्यप्रसाद रेग्मीले अक्षय कोष स्थापनाका लागि विद्यालयलाई ५० हजार सहयोग गरेका छन् ।
भारतीय सेनाको जागिर अवकाश भएर गाउँ आएपछि कालीमाटी विद्यालय स्थापना देखि आफै गुरु भएर काम गर्नुभएका स्वर्गीय पदमवीर थापा मगरको सम्झनामा विद्यालयले पदमवीर स्मृति प्रतिष्ठान खोलेको छ । प्रतिष्ठानको अक्षय कोषका लागि रेग्मीले ५० हजार रकम सहयोग गरेका हुन् ।
अहिले कालीमाटी विद्यालयको खातामा ५० हजार रकम जम्मा गरेको र अन्य दाताहरूबाट रकम उठेर एक लाख रकम पुगेपछि प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गरेसँगै उक्त रकम अक्षय कोषको लागि बैक खातामा राखिने भएको छ ।
उपकुलपति रेग्मी आफै विद्यालयमा पुगेर रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै राम्रो कामको थालनी गर्न सकेमा अक्षय कोषमा लाखौँ रकम जम्मा हुने त्यसबाट गरिब, विपन्न र जेहेन्दार विद्यार्थी सँगै वडा नं. ३ मा अन्य विकासे कामहरू समेत गर्न सकिने, दुःखी गरिबलाई सहयोग गर्न कोष महत्वपूर्ण हुने बताएका छन् ।
वडा नं. ३ का वडा अध्यक्ष चन्द्रप्रसाद उपाध्याय, त्रिउमाविका शिक्षक गणेश रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु उपाध्याय, विद्यालय अभिभावक संघका अध्यक्ष राम कटुवाल, पत्रकार विष्णु शर्मा लगायतले आफूले कखरा चिनेको विद्यालयको राम्रो कामका लागि प्रतिव्यक्ति पाँच हजार प्रदान गर्ने घोषणा समेत गरेका छन् ।











